गौँथलीको व्यापार २४ दिनमा १९ करोड ७१ लाख


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन

नेपाली चलचित्र ‘गौँथली’ शुक्रबारबाट चौथो हप्तमा प्रदर्शन भइरहेको छ । साउने सक्रान्तिबाट रिलिज भएको यो चलचित्र तेस्रो हप्ता पुरा गर्दा आइतबार २४ साउनसम्म २४ दिनमा नेपाल भरका चलचित्र हलबाट १९ करोड भन्दा माथिको व्यापार गरेको छ । यो व्यापारसँगै यसले यो वर्ष सबैभन्दा बढी कमाउने चलचित्रको रेकर्ड बनाएको छ ।

चलचित्र विकास बोर्डले सोमबार आज सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार देशभर हिजो राती ११ बजेसम्म चलचित्र गौथलीले १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँको ब्यापार गरेको छ । हालसम्म यो चलचित्रलाई ७ लाख १५ हजार १९८ जना दर्शकले टिकट काटेर हेरिसकेका छन् । यसरी चलचित्र गौँथलीले २४ दिनमा नेपालबाट साँढे १९ करोड रुपैयाँको व्यापार गरेको छ । यो चलचित्र अहिले पनि त्यतिकै भिडका साथ हलमा चलिरहेको छ ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

‘गौँथली’लाई कपिल रिजालले निर्देशन गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।