५१ दिनमा छायांकन सकियो ‘चिरञ्जीवी भवः’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ साउन

निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को दोस्रो चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन ५१ दिनमा पूरा भएको छ । धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको निर्माण कार्य जेठ १५ गतेबाट सुरु भएको थियो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘चिरञ्जीवी भवः’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषय बनाएको निर्देशक आचार्यले बताएका छन् ।

‘परान’को सफलतापछि आचार्यको निर्देशनमा बनेको यो दोस्रो चलचित्र भएकाले पनि ‘चिरञ्जीवी भवः’लाई दर्शकमाझ चासोका साथ हेरिएको छ । निर्देशक आचार्यले छायांकनमा कलाकार तथा प्राविधिकले गरेको मेहनतलाई पोस्ट प्रोडक्सनमा पनि निरन्तरता दिँदै दर्शकको मन जित्ने चलचित्र बनाउने बताएका छन् ।

कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा तयार भएको चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारीलगायत कलाकारको पनि अभिनय छ ।

कुमार कट्टेलको कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् । उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन् ।

शिवराम श्रेष्ठको छायांकन, मित्र डी। गुरुङको सम्पादन र गम्भीर विष्ट तथा किरण थापाको नृत्य निर्देशन रहेको चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । आरआर फिल्मस्ले चलचित्रको देशव्यापी वितरण गर्नेछ ।