आयो मास्टर्नीको ट्रेलर, पढाउने मास्टर्नीको कथा नभएको खुलासा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ साउन 

अभिनेत्री प्रियंका कार्कीले आफ्नो गृह ब्यानर आयंका फिल्मस्मा नयाँ चलचित्र ’मास्टर्नी’ तयार गरेकी छिन् । यो चलचित्रलाई उनले आगामी ५ भदौमा नेपालमा रिलिज गर्दै छिन् । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा अभिनेत्री प्रियँकाले यो चलचित्रको ट्रेलर बिहीबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरेकी छिन् ।

ट्रेलरले यो चलचित्रमा हराएकी छोरी खोज्नको लागि आमाले गरेको अन्तिम हदसम्मको संघर्षलाई मास्टर प्लानलाई केही हदसम्म दर्साइएको छ । क्राइम थ्रिलर/ फ्यामेली ड्रमा जनरामा निर्मित चलचित्रको ट्रेलरमा प्रमुख कलाकारलाई स्थान दिइएको छ।  प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दिपाश्री निरौला, सन्दीप क्षेत्री,प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका  कलाकार टिजरमा प्रस्तुत भएका छन् ।

चलचित्रको बारे स्पष्ट पार्दै अभिनेत्री प्रियंकाले ट्रेलर रिलिज समारोहमा भनिन्,‘यो चलचित्रका मुख्य पात्र कुनै स्कुलमा पढाउने मास्टर्नी हैन । आफ्नो छोरीलाई कसैले अपहरण गरेपछि एउटी आमाले कतिसम्म मास्टर्नी बनेर मास्टर प्लान बनाउन सक्छे भन्ने कुरा हाम्रो ट्रेलरले समेत दर्साएको छ ।’

समारोहमा यो चलचित्रका निर्माता आयुष्मान देशराज जोशीले चलचित्र ‘मास्टर्नी’लाई ससक्त चलचित्र बनाउन आफूहरूले कुनै कसर बाँकी नराखेको बताए । यस्तै यसका अभिनेता आर्यन सिग्देलले यसमा आफूले प्रहरी अधिकारीको भूमिका निर्वाह गरेको खुलाउँदै प्रियंकाले लेखेको चलचित्रको कथा सुनेपछि आफू कामगर्न उत्साहित भएको उनले स्पष्ट पारे । यस्तै अर्का अभिनेता प्रमोद अग्रहरीले आफू यसमा नकारात्मक भूमिकामा रहेको र खराब मार्गमा लाग्नु हुन्न भन्ने सन्देश आफ्नो चरित्रले दिने बताए ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा तयार पारेका छन्।  सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रको कार्यकारी निर्माता हुन्। भारतीय प्राविधिक टिमले काम गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको छ । राजेन्द्र मोक्तानको कलर रहेको टिजरको ध्वनि मिश्रण मुकेश शाहले गरेका छन् ।

युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको यस चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् । यसको पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ । चलचित्रमा रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन रहेको छ । चलचित्रलाई नेपालमा आर आर फिल्मसले वितरण गर्नेछ ।