ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ साउन
सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘हली’ को प्रचारप्रसार देशव्यापी रूपमा तीव्र पारिएको छ। निर्माण टिमले परम्परागत प्रचार शैलीभन्दा फरक अवधारणा अपनाउँदै पूर्वदेखि पश्चिमसम्म अटो र ई–रिक्सामा चलचित्रका पोस्टर राखेर दर्शकमाझ पुग्ने अभियान सञ्चालन गरेको हो।
यो चलचित्र भोली २२ साउनबाट रिलिज हुँदैछ । झापा, मोरङ र सुनसरीमा सुरु गरिएको प्रचार अभियान अहिले दाङ, नेपालगञ्ज र धनगढीसम्म विस्तार गरिएको छ। ती क्षेत्रका सयौँ अटो र ई–रिक्सामा ‘हली’का पोस्टर टाँसिएपछि चलचित्रले स्थानीयस्तरमै राम्रो चर्चा बटुल्न थालेको निर्माण पक्षले जनाएको छ।
निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले दर्शकमाझ चलचित्रको जानकारी प्रभावकारी रूपमा पुर्याउन नयाँ शैलीको प्रचारलाई प्राथमिकता दिएको बताएका छन्। उनीहरूका अनुसार राम्रो चलचित्र निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसलाई दर्शकमाझ पुर्याउन सशक्त प्रचार अभियान पनि आवश्यक हुन्छ।
केही दिनअघि काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजना गरिएको विशेष प्रदर्शनमा सहभागी दर्शक तथा चलचित्रकर्मीबाट ‘हली’ले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।
निर्देशक ओम प्रतीकले लेखन तथा निर्देशन गरेको चलचित्रले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका पीडा, विभेद र सामाजिक अन्यायलाई केन्द्रमा राख्दै परिवर्तनको सशक्त सन्देश दिन खोजेको छ। चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ भने निर्देशक ओम प्रतीक स्वयं पनि मुख्य भूमिकामा देखिएका छन्।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त निर्माण रहेको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। निर्माण टिमले सामाजिक चेतनासँगै मनोरञ्जन पनि दिने विश्वास व्यक्त गरेको छ।



