ब्युटी न्युज नेपाल
काठमाडौँ, २० साउन
वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक ‘म मदनकृष्ण’ मा कलाकार हरिवंश आचार्यको भूमिका अभिनेता अरुण क्षेत्रीले निर्वाह गर्ने भएका छन्। निर्माण टिमले हरिवंशको भूमिकाका लागि अरुणलाई औपचारिक रूपमा अनुबन्ध गर्दै दर्शकमाझ रहेको कौतुहलताको अन्त्य गरेको हो।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको बायोपिकले मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्य, अन्तरजातीय विवाह तथा कला यात्राका उतारचढावलाई समेट्नेछ।
निर्देशक मिलन चाम्सका अनुसार अरुणलाई ‘म मदनकृष्ण’सँगै भविष्यमा निर्माण हुने हरिवंश आचार्यको बायोपिकका लागि पनि अनुबन्ध गरिएको छ। अभिनय क्षमता र चरित्रमा ढल्न सक्ने सम्भावनालाई आधार बनाएर उनलाई चयन गरिएको निर्देशकको भनाइ छ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने केकी अधिकारीले उनकी पत्नी यशोदाको भूमिका निर्वाह गर्नेछिन्। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ।

राजकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुने तयारी छ। चलचित्रको डिजिटल अधिकार प्रतिष्ठित डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले कीर्तिमानी मूल्यमा खरिद गरिसकेको निर्माण पक्षले जनाएको छ। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले चलचित्रको वितरण गर्नेछन्।


