ब्युटी न्युज नेपाल
काठमाडौँ, २० साउन
नेपाली मौलिक कथामा आधारित चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको १ मिनेट ५१ सेकेन्ड लामो टिजरले पारिवारिक सम्बन्ध, भावनात्मक द्वन्द्व र रहस्यमय घटनाक्रमलाई प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जनलगायत कलाकारको अभिनय रहेको छ।
टिजरमा देउरानी–जेठानीबीचको मनमुटाव, परिवारभित्रको तनाव र आमाको रहस्यमय रूपमा घर छाडेपछि सुरु हुने खोजी अभियानलाई केन्द्रमा राखिएको छ। पहिलो श्रृंखलाको कथालाई निरन्तरता दिँदै निर्माण गरिएको सिक्वेलमा केही नयाँ मोडहरू पनि समावेश गरिएको छ। विशेषगरी अभिनेता आर्यन सिग्देलको फरक लुक्स र साङ्लोले बाँधिएको दृश्यले कथाप्रति थप कौतुहलता सिर्जना गरेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेले तयार गरेका हुन् भने सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता हुन्।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। एप्पल इन्टरटेन्मेन्टले वितरण गर्ने यो चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। टिजर सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरूले यसको पारिवारिक कथावस्तु र प्रस्तुतिको प्रशंसा गर्दै ‘झिँगेदाउ’को सफलतालाई सिक्वेलले पनि निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्।



