इन्फा अवार्ड–२०२६को तयारी अन्तिम चरणमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २० साउन

आगामी साउन ३० गते (अगस्ट १५) काठमाडौंमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ। अवार्ड समारोहलाई सफल र व्यवस्थित बनाउन बेलायतस्थित आयोजक संस्था इन्फा इभेन्ट्स यूके को प्रतिनिधिमण्डल बुधबार काठमाडौं आइपुगेपछि तयारीले थप गति लिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले बेलायतबाट आएको टोलीलाई स्वागत गरेका थिए। आयोजकका अनुसार प्रतिनिधिमण्डलको आगमनसँगै कार्यक्रम व्यवस्थापन, प्राविधिक समन्वय, अतिथि सत्कार तथा मञ्च सञ्चालनका सबै पक्षलाई अन्तिम रूप दिने काम तीव्र रूपमा अघि बढाइएको छ।

बेलायतबाट आएको टोलीमा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तान तथा बोर्ड निर्देशकहरू टंक भट्टराई, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल सहभागी छन्। उनीहरूले नेपालमा रहँदा समारोहसँग सम्बन्धित सम्पूर्ण तयारीको प्रत्यक्ष अनुगमन र समन्वय गर्ने जनाइएको छ।

नेपालतर्फ इन्फा अवार्डका अध्यक्ष सुनील श्रेष्ठको नेतृत्वमा बोर्ड सदस्य मनिष कार्की, मनोज केसी तथा अन्य आयोजक टोली लामो समयदेखि कलाकार समन्वय, मञ्च निर्माण, प्राविधिक व्यवस्थापन र कार्यक्रम सञ्चालनको तयारीमा सक्रिय छन्। साथै बोर्ड निर्देशक पाल्देन लामासहितको टोलीले पनि व्यवस्थापनमा सहकार्य गरिरहेको छ।

आयोजकका अनुसार यस वर्षको समारोहमा नेपालसँगै विभिन्न देशबाट कलाकार, चलचित्रकर्मी, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहनेछ। रेड कार्पेट, सांगीतिक प्रस्तुति, विशेष सम्मान तथा विभिन्न विधामा उत्कृष्ट चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिने कार्यक्रमलाई भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी भइरहेको जनाइएको छ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको इन्फा अवार्डले नेपाली फिल्म उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय समारोहका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै आएको छ। आयोजकले यसपटकको संस्करण अघिल्ला वर्षभन्दा अझ आकर्षक, व्यवस्थित र स्मरणीय हुने विश्वास व्यक्त गरेको छ।