गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ साउन

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ ले अब काठमाडौंमा पनि आफ्नो सेवा विस्तार गरेको छ। गायिका आगन्तुक खरेलले काठमाडौं महानगरपालिका–३१, शंखमूलस्थित बागमती पुलनजिक अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यले सलुन सञ्चालनमा ल्याएकी हुन्।

आइतबार आयोजित विशेष समारोहमा खरेलकी सुपुत्री आँचल पुनले रिबन काटेर सलुनको उद्घाटन गरिन्। कार्यक्रममा कलाकार, संगीतकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तेस्रो तलामा सञ्चालनमा आएको सलुनमा महिलाका लागि आवश्यक सम्पूर्ण सौन्दर्य सेवा एउटै छानामुनि उपलब्ध हुने सञ्चालिका खरेलले बताइन्। उनका अनुसार अनुभवी ब्युटी एक्सपर्टको टोलीले आधुनिक प्रविधिको प्रयोग गर्दै प्रत्येक ग्राहकको आवश्यकता अनुसार व्यक्तिगत सेवा प्रदान गर्नेछ।

सलुनमा हेयर स्टाइलिङ, मेकअप, ब्राइडल मेकओभर, नेल आर्ट, हाइड्रा फेशियल, लेजर ट्रीटमेन्ट तथा अन्य अत्याधुनिक स्किन केयर सेवा उपलब्ध छन्। साथै छालासम्बन्धी समस्याको पहिचानका लागि विशेषज्ञको परामर्श र आवश्यक उपचारसमेत प्रदान गरिने व्यवस्था गरिएको छ।

आबुधाबीमा हासिल गरेको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गर्दै गुणस्तरीय, सुरक्षित र विश्वसनीय सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ ‘प्रीटि सलुन’ सञ्चालनमा ल्याइएको सञ्चालिका आगन्तुक खरेलले बताइन्।