ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ साउन
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ को राजधानीस्थित जयनेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रममा चलचित्रकर्मी, शिक्षाविद्, विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध, पारिवारिक मूल्य र सामाजिक जिम्मेवारीलाई भावनात्मक ढंगले प्रस्तुत गरेको भन्दै उपस्थित दर्शकहरूले प्रशंसा गरेका छन्। विशेषगरी विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले चलचित्रले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई संवेदनशील रूपमा चित्रण गरेको उल्लेख गर्दै सबैले हेर्नुपर्ने सन्देशमूलक चलचित्र भएको प्रतिक्रिया दिएका छन्।
वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बनेको चलचित्रमा रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगरलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको ‘कमला मिस’ लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्। सामाजिक सन्देश बोकेको यो चलचित्र साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।



