चलचित्र ‘पच्चीस पच्चीस’ निर्माण घोषणा, भक्ते भाइको नेपाली फिल्ममा डेब्यु


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ साउन

नेपाली चलचित्र क्षेत्रमा नयाँ सामाजिक–कमेडी कथामा आधारित चलचित्र ‘पच्चीस पच्चीस’ निर्माण हुने भएको छ। राजधानीको दरबारमार्गस्थित कासा लाउञ्ज बारमा आयोजित समारोहबीच चलचित्रको शीर्षक सार्वजनिक गर्दै निर्माण टोली र मुख्य कलाकारको औपचारिक घोषणा गरिएको हो।

फिल्ममा अभिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। साथै, दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा (भक्ते भाइ) ले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्ने भएका छन्। सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेका अमितको आगमनलाई निर्माण टोलीले चलचित्रको विशेष आकर्षणका रूपमा प्रस्तुत गरेको छ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन अनुभवी निर्देशक सुब्रत आचार्य ले गर्नेछन्। यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका आचार्यले यसपटक मनोरञ्जनसँगै सामाजिक सन्देश दिने कथा प्रस्तुत गर्ने बताएका छन्।

चलचित्रको कथा सुब्रत आचार्य र जया ले तयार गरेका हुन् भने पटकथा सुशील देवकोटा ले लेखेका छन्। हरि हुमागाईं छायांकन निर्देशक रहने यस चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन ले गर्नेछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ।

चलचित्रका निर्माता कर्ण कार्की हुन्। सहनिर्मातामा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण रहेका छन् भने कार्यकारी निर्माता दीपेन्द्र गौतम (माइकलु) हुन्। लाइन प्रोड्युसरका रूपमा प्रकाश कँडेल र मनिषा राउत ले जिम्मेवारी सम्हाल्नेछन्।