ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन
ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृतिलाई सम्मानमा रूपान्तरण गर्दै विभिन्न कला विधाका अग्रज स्रष्टालाई सम्मानित गरिएको विशेष समारोह काठमाडौंमा सम्पन्न भएको छ। गुरु पूर्णिमाको अवसर पारेर नेपाल पूर्व प्रहरी कलाकार संघले आयोजना गरेको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा अभिनेत्री तथा नृत्यांगना मिथिला शर्माले स्थापना गरेको गुरु–दक्षिणा सम्मान प्रदान गरिएको हो।
नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। समारोहमा हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई ध्रुवरत्न हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान, गायक–संगीतकार डा. किरण प्रधानलाई गोपाल योञ्जन संगीत साधना सम्मान, नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान तथा साहित्यकार एवं गीतकार उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान प्रदान गरियो। अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलोपटक नेपाल पूर्व प्रहरी कला साधना सम्मान अर्पण गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षण सम्मानित व्यक्तित्वहरूको जीवनयात्रा र योगदान समेटिएको भिडियो प्रस्तुति बन्यो। उनीहरूका जीवनसाथीलाई पनि मञ्चमा आमन्त्रण गरी सम्मानमा सहभागी गराइएको दृश्यले समारोहलाई थप भावुक बनाएको थियो।
वरिष्ठ अभिनेत्री मिथिला शर्माले आफ्ना गुरु चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको योगदानलाई पुस्तौँसम्म स्मरणीय बनाउने उद्देश्यले सम्मान स्थापना गरिएको बताइन्। गुरुहरूको ऋण कहिल्यै तिर्न नसकिने भए पनि उनीहरूको नाममा सम्मान अर्पण गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको उनले व्यक्त गरिन्।
संघका संस्थापक छत्रबहादुर गुरुङले कला र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए भने प्रहरी महानिरीक्षक कार्कीले पूर्व प्रहरी कलाकारलाई संस्थासँग जोडिराख्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखे। समारोहमा पूर्व तथा वर्तमान प्रहरीसँग आबद्ध कलाकारहरूको गीत, संगीत र नृत्य प्रस्तुति रहेको थियो भने मिथिला शर्माको विशेष नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।



