भिडियोमा आयो ‘बा : एक योद्धा’ को गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ साउन

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बा : एक योद्धा’ ले प्रचार अभियानलाई तीव्र बनाउँदै आफ्नो शीर्ष गीत सार्वजनिक गरेको छ। सार्वजनिक गीतमार्फत चलचित्रले बोकेको पारिवारिक भावना, बुवाको संघर्ष र आफ्नोपनको सन्देशलाई भावुक शैलीमा प्रस्तुत गरिएको छ।

‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोल रहेको गीतमा शब्द, संगीत तथा स्वर हरि लम्सालको रहेको छ भने गीतले सफलता हासिल गरेपछि पनि जन्मभूमि, परिवार र आफ्ना अभिभावकलाई कहिल्यै नबिर्सनुपर्ने सन्देश दिन्छ। गीतमा रुख–जराको सम्बन्ध, माटो र मानिसबीचको आत्मीयता तथा बुवाआमाप्रतिको सम्मानलाई मार्मिक रूपमा अभिव्यक्त गरिएको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिव्यदेव, सुहाना थापा, झरना थापालगायत अन्य कलाकारहरूको अभिनय समेटिएको छ। बाल्यकालदेखि जीवनका विभिन्न मोड हुँदै सन्तानको भविष्यका लागि बुवाले गर्ने अथक संघर्ष र एक्लोपनलाई दृश्यमार्फत प्रस्तुत गरिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको पनि अभिनय रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले निर्माण गरेको चलचित्रले नेपाली परिवारमा बुवाको त्याग, जिम्मेवारी र समर्पणको कथालाई मुख्य विषय बनाएको छ। बुबाको मुख हेर्ने पर्वको अवसर पारेर प्रदर्शनमा आउने यस चलचित्रप्रति दर्शकमाझ चासो बढ्दै गएको निर्माण पक्षले जनाएको छ।