ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ साउन
खिर खाने पर्वको अवसर पारेर आगामी २९ साउनदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै प्रेम, बिछोड र जीवन संघर्षको भावनात्मक कथा दर्शकमाझ प्रस्तुत गरेको हो।
सार्वजनिक ट्रेलरले दुई प्रेमिल जोडीको सम्बन्ध, उनीहरूको खुसीका क्षण, समयसँगै आउने धोका, सामाजिक दबाब, आर्थिक अभाव र पारिवारिक चुनौतीबीचको संघर्षलाई केन्द्रमा राखेको छ। चलचित्रमा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीको भूमिकामा छन्। उनीहरूको जीवनमा आउने उतारचढाव र सम्बन्धका बदलिँदा आयामलाई निर्देशकले संवेदनशील ढंगले प्रस्तुत गरेका छन्।
चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, विशाल पहारी, प्रिया रिजाल, हिउँवाला गौतम, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।
निर्देशक राजबहादुर सानेका अनुसार ‘लज्जावती’ले प्रेम मात्र होइन, त्यसपछि आउने जिम्मेवारी, पीडा र संघर्षलाई यथार्थपरक रूपमा चित्रण गर्ने प्रयास गरेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।

तारा थापा ‘किम्भे’को सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन तथा दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर प्रदर्शनमा ल्याउनेछ।



