ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ साउन
आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै चलचित्रको प्रेमिल गीत दर्शकमाझ ल्याएको हो। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ।
प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त स्वयं र विज्ञानी पराजुलीको स्वर रहेको छ। गीतले पहिलो नजरमै सुरु हुने प्रेम, त्यसले जन्माउने भावनात्मक कल्पना र त्रिकोणात्मक प्रेम सम्बन्धलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। गीतमार्फत चलचित्र प्रेमकथामा आधारित रहेको स्पष्ट संकेत पनि गरिएको छ।
चलचित्रलाई अभिनेत्री तथा निर्देशक रेखा थापाले निर्देशन गरेकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’पछि यो उनको तेस्रो निर्देशकीय चलचित्र हो।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ।
ध्रुव लम्सालको पटकथा रहेको चलचित्रमा सुदीप बरालको छायांकन, प्रशान्त शिवाकोटीको संगीत तथा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन्। हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माताको रूपमा रहेका यस चलचित्रलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।



