चलचित्र अक्षराको तिज लक्षित गीत ‘नाचौन बरिलै’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन

आगामी तीज पर्वलाई लक्षित गर्दै चलचित्र ‘अक्षरा’ ले नयाँ सांगीतिक कोशेली सार्वजनिक गरेको छ। फिल्मको तीज विशेष गीत ‘नाचौन बरिलै’ सार्वजनिक भएसँगै यसको आकर्षक नृत्य र लोकलयले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पत्रकार, चलचित्रकर्मी तथा कलाकारहरूको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोमा फिल्मका मुख्य अभिनेत्री रिस्ता अधिकारी र न्यान्सी खड्का ले प्रस्तुत गरेको उत्साहपूर्ण नृत्य मुख्य आकर्षण बनेको छ। रामजी लामिछानेको कोरियोग्राफीमा तयार गरिएको गीतले नेपाली तीजको मौलिक संस्कृति र उमंगलाई जीवन्त रूपमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ।

गीतमा समिक्षा अधिकारी को स्वर, सुरेन्द्र राना को शब्द तथा कर्णराज गिरी को संगीत रहेको छ। चलचित्रका निर्देशक विनयराज पौडेल हुन्। फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसीलगायत कलाकारको अभिनय रहेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउने फिल्मको डिजिटल सामग्री मुभिज डिजिटेनमेन्ट मार्फत सार्वजनिक हुँदै आएको निर्माण पक्षले जनाएको छ। तीज गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता थप बढ्ने अपेक्षा गरिएको छ।