खल्ती एप्स प्रचारको लागि इन्फ्लुएन्सर अवार्ड्स घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ साउन

नेपालमा डिजिटल कन्टेन्ट निर्माणलाई थप व्यवस्थित, सम्मानित र व्यावसायिक बनाउने उद्देश्यसहित ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ। कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गरी राष्ट्रिय स्तरमा हुन लागेको यो पहिलो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको आयोजनामा सम्पन्न हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगितामा देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरले सहभागिता जनाइसकेका छन्। प्राप्त सामग्रीको मूल्याङ्कनपछि उत्कृष्ट १०० प्रतिस्पर्धीलाई अन्तिम चरणका लागि छनोट गरिनेछ भने मनोनयन सूची आगामी साताभित्र सार्वजनिक गरिने तयारी छ। अन्तिम प्रतिस्पर्धामा १० विधाअन्तर्गत उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिने जनाइएको छ।

प्रतियोगिताको मूल्याङ्कनका लागि कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र पत्रकार टेक नारायण भट्टराई निर्णायकको भूमिकामा रहनेछन्। ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना गरिने भए पनि स्थल भने पछि घोषणा गरिनेछ।

कार्यक्रमको व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ। आयोजकले सामाजिक सञ्जालमार्फत सिर्जनात्मक सामग्री उत्पादन गर्ने प्रतिभाहरूको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्दै नयाँ कन्टेन्ट क्रिएटरलाई प्रेरणा र अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।