विशेष सोमा ‘हली’लाई दर्शकको सुखद प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० साउन

नेपाली चलचित्र ‘हली’ को काठमाडौँमा विशेष शो आयोजना गरिएको छ । विशेष शोमा दर्शकहरु हल भरिभराउ रुपमा उपस्थिति थिए । यो विशेष शोमा चलचित्रले दर्शक तथा चलचित्रकर्मीहरूबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ।

आगामी साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई विशेष शो हेरिसकेपछि अधिकांश फिल्मकर्मी र दर्शकहरूले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको भन्दै निर्माण पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरे। दर्शकको अनपेक्षित माया र सकारात्मक प्रतिक्रियाबाट निर्देशक ओम प्रतीकका साथै निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ निकै उत्साहित देखिएका छन्।

यो चलचित्रले सामाजिक एवं देशगत परिवर्तनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने छ । यस चलचित्रको लेखन स्वयं निर्देशक ओम प्रतीकले गरेका हुन्।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुव्र्यवहारलाई मुख्य विषयवस्तु यो चलचित्र बनाइएको छ । व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठद्वारा निर्मित यस चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। चलचित्रको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित शीर्ष कलाकारहरूको विशेष नृत्य देख्न सकिन्छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।