चलचित्र गौँथली आजबाट दोस्रो सातामा, झरीमा पनि सबैतिर हाउसफूल


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ साउन

नेपाली चलचित्र ‘गौँथली’ आजबाट देशभरका चलचित्र घरमा दोस्रो हप्तामा प्रदर्शन सुरु भएको छ । साउने सक्रान्तिबाट रिलिज भएको यो चलचित्र पहिलो साता देशभरका हलमा २०० भन्दा धेरै सोेका साथ प्रदर्शनमा आएको थियो । तर चलचित्र गौँथली दोस्रो साताबाट ३०० भन्दा बढी सोमा प्रदर्शन भइरहेको छ ।

यो चलचित्रका निर्माता सुमन गिरीका अनुसार देशभर अधिकाँस चलचित्र घरमा चलचित्र गौँथली झरीको दिन पनि हाउसफुल भएको छ । माउथ पब्लिसीले चलचित्रले राम्रो सफलता हाँसिल गरिरहेको सुमनले बताए । यति बेला चलचित्र गौँथलीका कलाकार मोफसल भ्रमणमा छन् । बिहीबार चितवनको पर्सा स्थित म्यागो हलमा पुगेका कलाकारहरुलाई त्यहाँ भव्य स्वागत गरिएको थियो । त्यहाँ दर्शक हलभरी हाउसफुल थिए ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

‘गौँथली’लाई कपिल रिजालले निर्देशन गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।