‘ओइ ओइ चमेली’ गीतमा टिकटक प्रतियोगिता, उत्कृष्ट चार स्रष्टालाई नगद पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ साउन

आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘चमेलीको पोइ’ ले आफ्नो प्रचार अभियानलाई दर्शकमाझ थप प्रभावकारी बनाउन शीर्ष गीत ‘ओइ ओइ चमेली’ मा आधारित टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता सार्वजनिक गरेको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत सिर्जनात्मक भिडियो बनाएर सहभागी हुन सबैलाई आह्वान गरेको हो।

प्रतियोगिताका चार विजेताले कुल एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार र चौथोलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा टिकटक, फेसबुक, इन्स्टाग्राम रिल्स तथा युट्युब सर्ट्समा गीत प्रयोग गरी भिडियो अपलोड गर्न सकिनेछ। आयोजकका अनुसार पोस्ट गर्दा चलचित्रका आधिकारिक ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। मौलिकता, प्रस्तुति, सिर्जनशीलता र दर्शक आकर्षित गर्ने क्षमताका आधारमा उत्कृष्ट भिडियो छनोट गरिने जनाइएको छ।

राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको गीतमा एभरेष्ट सूर्य बोहराको शब्द तथा राजनराज शिवाकोटीकै संगीत छ। कबिराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राईको प्रस्तुति रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, नारायण त्रिपाठीसहितका कलाकारको अभिनय छ। एभरेष्ट सूर्य बोहराले निर्देशन गरेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।