‘कमला मिस’को नयाँ प्रेमगीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ साउन

आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको मनोवैज्ञानिक कथामा आधारित नेपाली चलचित्र ‘कमला मिस’ ले प्रदर्शनअघि आफ्नो नयाँ प्रेमगीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक गरेको छ। वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित यस चलचित्रको गीत सार्वजनिक भएसँगै फिल्मको प्रचार अभियानले थप गति लिएको छ।

सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने रुबाई र सरोदी कुमारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई मुम्बईस्थित प्लेहेड स्टुडियोमा रेकर्ड गरिएको हो। रूप महन्तले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफीले आकर्षण थपेको निर्माण पक्षले जनाएको छ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित भएर निर्माण गरिएको ‘कमला मिस’ले मानव मनोविज्ञान र समाजका जटिल सम्बन्धलाई पर्दामा उतार्ने प्रयास गरेको निर्देशक शाहले बताएका छन्। चलचित्रमा निर शाह स्वयंका साथै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको यस चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ, रेनिश फागोको रङ संयोजन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।