मिथिला शर्माद्धारा स्थापित विभिन्न पुरस्कार एवम् सम्मानको घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ साउन

वरिष्ठ अभिनेत्री तथा नृत्यांगना मिथिला शर्माले आफूद्धारा स्थापित विशेष पुरस्कारको घोषणा गरेकी छिन् । आफ्ना गुरुहरूको सम्मानमा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने क्रममा उनले पुरस्कृतको घोषणा गरेकी हुन् । यो पुरस्कार गुरु पूर्णिमाको अवसरमा यही १३ साउनमा काठमाडौंमा आयोजना हुने नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान समारोहमा प्रदान गरिने भएको छ । यो कार्यक्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने छ ।

सो समारोहमा नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान–२०८३, गायक तथा संगीतकार डा. किरण प्रधानलाई गोपाल योञ्जन संगीत साधना सम्मान–२०८३, साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान–२०८३ तथा हास्य कलाकार एवं निर्देशक सन्तोष पन्तलाई हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान–२०८३ प्रदान गरिनेछ।

यसैगरी अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलो पटक नेपाल पूर्व प्रहरी कला साधना सम्मान–२०८३ प्रदान गरिने जानकारी आयोजक पक्षले दिएको छ।

नेपाल पूर्व प्रहरी कलाकार संघकी सल्लाहकारसमेत रहेकी मिथिला शर्माले आफ्ना अभिनय, संगीत र नृत्यका गुरुहरूको योगदानलाई भावी पुस्तासम्म स्मरणीय बनाउने उद्देश्यले यी सम्मान स्थापना गरेको बताइन्। उनका अनुसार गुरुहरूको नाममा सम्मान प्रदान गर्दै उनीहरूको सिर्जनात्मक योगदानलाई समाजमा निरन्तर जीवित राख्ने अभियानस्वरूप यो कार्यक्रम आयोजना हुँदै आएको हो। उनले आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न नसकिने भए पनि उहाँहरूको स्मृतिलाई सम्मानमार्फत जीवन्त राख्ने प्रयास आफूले गरिरहेको बताएकी छिन् ।