प्रदर्शनको दोस्रो दिन ‘गौँथली’लाई दर्शकको राम्रो साथ


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ साउन

.हिजो शुक्रबार साउने सक्रान्तिबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले पहिलो निकै राम्रो व्यापार गरेको छ । पाहिलो दिन मुलुक भर झरीले असर गरे पनि चलचित्र ‘गौँथली’को व्यापार उत्साहजनक रहेको छ । पहिलो दिन यो चलचित्रले ३० लाख रपैयाँ भन्दा माथिको व्यापार नेपालमा गरेको छ । शनिबार बिहानै देखि चलचित्र ‘गौँथली’मा दर्शकको उपस्थिति राम्रो छ । आज शनिबार यो चलचित्रले अझ राम्रो व्यापार गर्ने देखिन्छ ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । दर्शकले फिल्मको विषयवस्तु, कलाकारहरूको अभिनय र समाजलाई दिएको सन्देशको खुलेर प्रशंसा गरेका छन्। शनिबार काठमाडौँका विभिन्न चलचित्र घरमा पुगेका कलाकारहरुलाई दर्शकले उनीहरुको अभिनयको प्रशंसा गरेका हुन् । प्रदर्शनपछि धेरै दर्शक भावुक बनेका थिए भने ‘गौँथली’ पात्रको संघर्ष र छोरीको शिक्षाको महत्त्वले आफूहरूलाई गहिरो रूपमा छोएको प्रतिक्रिया दिएका छन्।

फिल्मका निर्देशक डा. कपिल रिजालले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताए । उनले भने, ’हामी बिहानदेखि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ। हामीले फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले आत्मसात् गर्नुभएको छ। ‘गौँथली’को संघर्षलाई उहाँहरूले महसुस गर्नुभएको छ, यही हाम्रो सफलता हो।’

 

फिल्मका अभिनेता अरुण क्षेत्रीले दर्शकले आफ्नो पात्रलाई अत्यधिक माया गरेको बताए। उनले फिल्ममा आफूले बोलेको चर्चित संवाद ‘गाईको घ्यू, आई लभ यू’ दोहो¥याउँदै दर्शकले फिल्मको प्रशंसा गरेको उल्लेख गरे । ’यो मेरो करिअरकै सबैभन्दा चुनौतीपूर्ण पात्र थियो। दर्शकले पात्रसँग भावनात्मक रूपमा जोडिनुभएको छ, यही हाम्रो उपलब्धि हो’, उनले भने ।

बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत निर्देशक डा. कपिल रिजाल पछिल्ला केही वर्षदेखि फिल्म निर्माण तथा निर्देशनमा सक्रिय छन्। उनका अनुसार चिकित्सकीय अनुभवले नै कथावस्तु छनोटमा प्रभाव पारेको छ। यसअघि उनले निर्देशन गरेको ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेसन’को विषय उठाइएको थियो भने ‘गौँथली’ मा ‘माइल्ड अटिजम’ भएका व्यक्तिको जीवन र ग्रामीण समाजमा छोरीको शिक्षाको महत्त्वलाई मुख्य विषय बनाइएको छ ।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।