प्रदर्शनअघि नै साइप्रसमा ‘हली’का सबै टिकट बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ असार

आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ। वास्तविक घटनाबाट प्रेरित भएर निर्माण गरिएको यो चलचित्रको साइप्रस प्रदर्शनका लागि उपलब्ध सबै टिकट बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।

निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार साइप्रसमा फिल्मको प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ। अन्य विभिन्न मुलुकमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि वितरकहरूसँग छलफल तीव्र रूपमा अघि बढिरहेको छ। ती देशहरूमा प्रदर्शन मिति तय भएपछि औपचारिक जानकारी सार्वजनिक गरिने बताइएको छ।

शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको ‘हली’लाई निर्देशक तथा लेखक ओम प्रतीकले निर्देशन गरेका हुन्। समाजमा सकारात्मक परिवर्तन ल्याउन एक दृढ व्यक्तिको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले सशक्त सामाजिक सन्देश दिने निर्माण पक्षको विश्वास छ।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि विशेष भूमिकामा देखिएका छन्।

चलचित्रको प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएको विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको आकर्षक प्रस्तुति समावेश छ। देशभित्र र बाहिर एकसाथ तातिरहेको चर्चाले ‘हली’ ले हलमा राम्रो व्यापार गर्ने आशा निर्माण पक्षको छ ।