ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० असार
आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मास्टर्नी’ ले प्रदर्शनअघि आफ्नो प्रचार अभियानलाई तीव्र बनाउँदै प्रमोसनल गीत सार्वजनिक गरेको छ। सार्वजनिक गीतमा लोकप्रिय गायक दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ भने गायिका वविना किरातीले स्वरमा साथ दिएकी छन्। चलचित्रको प्रचारका लागि दुर्गेशले अभिनेत्री तथा निर्माता प्रियंका कार्कीलाई उपहारस्वरूप यो गीत उपलब्ध गराएको बताइएको छ।
सार्वजनिक गीतको भिडियो प्रदीप लामाको कन्सेप्ट, निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको हो। भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल आकर्षक प्रस्तुतिमा देखिएका छन्। पवन सुस्लिङले छायांकन, सम्पादन र रङ संयोजनको जिम्मेवारी सम्हालेका छन्, जसले भिडियोलाई थप आकर्षक बनाएको छ।
चलचित्रमा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुप विक्रम शाही, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ। प्रचारात्मक गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकमाझ उत्सुकता थप बढेको निर्माण टिमको विश्वास छ।
आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’ का निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन्। चलचित्रको कथा प्रियंका कार्कीले तयार गरेकी हुन् भने पटकथा तथा संवाद शान थापाले लेखेका छन्। निर्माण पक्षका अनुसार चलचित्रले मनोरञ्जनसँगै सामाजिक विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको छ।

