प्रेस काउन्सिलका नव अध्यक्ष उमेशले सम्हाले कार्यभार


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० असार

पत्रकार उमेश श्रेष्ठले सोमबारदेखि प्रेस काउन्सिल नेपालको अध्यक्षका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। पदभार ग्रहणअघि उनले काउन्सिल सदस्यहरूको उपस्थितिमा शपथ लिएका थिए। पत्रकारिता, डिजिटल सञ्चार र तथ्यजाँच क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उमेशलाई हालै मन्त्री परिषदले अध्यक्षमा नियुक्त गरेको हो ।

पदबहालीपछि बोल्दै अध्यक्ष श्रेष्ठले कृत्रिम बुद्धिमत्ता (एआई( र सामाजिक सञ्जालको तीव्र विस्तारसँगै सञ्चार क्षेत्रका चुनौतीहरू बदलिएको उल्लेख गर्दै त्यसअनुसार प्रेस काउन्सिलको भूमिका पनि समयानुकूल बनाउनुपर्ने बताए। उनले एआईको प्रयोगसँग सम्बन्धित स्पष्ट निर्देशिका तयार गर्ने योजना रहेको जानकारी दिँदै जिम्मेवार र विश्वसनीय पत्रकारितालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षण काउन्सिलको प्रमुख दायित्व भएको उल्लेख गर्दै कुनै पनि प्रकारको दबाब वा प्रभावबाट मुक्त रही पत्रकारिता क्षेत्र र सरकारबीच समन्वयकारी संस्थाका रूपमा काम गर्ने बताए। साथै, काउन्सिलका कर्मचारीहरूको पेशागत समस्या समाधानलाई समेत प्राथमिकतामा राखिने उनको भनाइ थियो।नवनियुक्त अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य, सदस्यसचिव, विभिन्न शाखाका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए।

नेपाली भाषाको पहिलो युनिकोड ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादकका रूपमा परिचित श्रेष्ठलाई असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा मनोनयन गरेको थियो। छापा, टेलिभिजन, अनलाइन र डिजिटल पत्रकारितामा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका श्रेष्ठ आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन्। सञ्चार क्षेत्रका विभिन्न प्रतिष्ठित संस्थामा काम गरिसकेका उनले तथ्यजाँच, डिजिटल सुरक्षा र तथ्याङ्क पत्रकारितासम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आएका छन्।