ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ असार
टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’ पात्रका रूपमा दर्शकमाझ लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक नेपाली चलचित्रमा मुख्य नायकको भूमिकामा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा अनुबन्धित भएका हुन्।
वर्षौंदेखि हास्य अभिनयमार्फत दर्शकको मन जित्दै आएका बेगमका लागि यो चलचित्र करिअरको नयाँ मोडका रूपमा हेरिएको छ। सानो पर्दामा स्थापित उनी पहिलोपटक ठूलो पर्दामा नायकका रूपमा प्रस्तुत हुन लागेकाले निकै उत्साहित रहेको निर्माण पक्षले जनाएको छ।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको छायाङ्कन यही सातादेखि सुरु गर्ने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाका अनुसार फिल्ममा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको सशक्त उपस्थिति रहनेछ।
चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। यसअघि नै पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की र लोकप्रिय कमेडियन प्रभात लामा पनि मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्।
पूर्ण मनोरञ्जनात्मक कमेडी शैलीमा निर्माण हुने ‘तीन तीघ्रे क्या बिग्रे’ ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई समेट्दै दर्शकलाई नयाँ स्वाद दिने विश्वास निर्देशक अमरदीप सापकोटाले व्यक्त गरेका छन्।

