ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असार
आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ ले प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचार अभियानलाई थप तीव्र बनाएको छ। यसैक्रममा चलचित्रको दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर सोमबार पोस्टर सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।
नयाँ पोस्टरमा मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्का गम्भीर भावमा फरक–फरक दिशातर्फ फर्किएको अवस्थामा देखिएका छन्। उनीहरूको अभिव्यक्तिले सम्बन्धमा आएको दूरी, मनमुटाव, बिछोड र भावनात्मक द्वन्द्वलाई संकेत गरेको छ। पृष्ठभूमिमा देखिएको भीडले पात्रहरूको जीवनमा समाजको प्रभाव र दबाबलाई पनि झल्काउने प्रयास गरेको देखिन्छ। यसले चलचित्र सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ।
‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो फिल्मलाई दक्षिण कोरियाका फिल्म वितरकले खरिद गरेका हुन्।
कोरियाका लागि यस फिल्मको प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले खरिद गरेको हो। यो सम्झौतासँगै अब कोरियामा रहेका नेपाली दर्शकले पनि यो फिल्म हेर्न पाउने भएका छन्। यद्यपि, फिल्म कति रकममा बिक्री भयो भन्ने बारेमा निर्माण पक्षले केही खुलाएको छैन। प्रदर्शन मिति सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकार बिक्री हुनुलाई फिल्म क्षेत्रमा सकारात्मक रूपमा हेरिएको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्का प्रमुख भूमिकामा छन्। बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गरेका छन्।
झण्डै डेढ महिनामा छायाङ्कन सम्पन्न भएको चलचित्रको निर्देशन विनय राज पौडेलले गरेका हुन्। सोनी थापा ९ढुङ्गाना० प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार गरेका छन्। दीपेन बस्न्यातको छायाङ्कन रहेको चलचित्रलाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले देशभर वितरण गर्नेछन्।

