चलचित्र ‘गौँथली’ को ट्रेलरमा अटिजम भएकाहरुको संघर्ष पीडा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असार

आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘गौँथली’ को ट्रेलर सार्वजनिक गरिएको छ। सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एक युवतीको शिक्षा हासिल गर्ने संघर्ष, वैवाहिक जीवनका चुनौती र परम्परागत सोचसँगको टकरावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमा मुख्य कलाकार सिम्रन खड्काले पढाइलाई निरन्तरता दिन गरेको संघर्ष र त्यसमा परिवारभित्रैबाट सिर्जना हुने अवरोधलाई देखाइएको छ। अटिजम भएका युवक अरुणसँग विवाहपछि उनले भोग्नुपर्ने कठिनाइ, समाजको रूढिवादी सोच र महिलाले महिलालाई नै सहयोग नगर्दा उत्पन्न हुने समस्या पनि कथाको मुख्य पक्ष बनेका छन्। अभिनेता अरुण क्षेत्रीले स्वास्थ्य अवस्थाका कारण फरक व्यवहार गर्ने पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराललगायत कलाकारको अभिनय रहेको छ। डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार गरेका हुन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन्।