ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असार
साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’ को निर्माण टिमले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर ललितपुरको सुनाकोठीमा धान रोप्दै रोपाइँ पर्व मनाएको छ। किसानको जीवन र संघर्षमा आधारित कथावस्तु भएकाले चलचित्रको सम्पूर्ण टिमले खेतमै पुगेर किसानप्रति सम्मान व्यक्त गरेको हो।
रोपाइँ कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठसहितको टोली सहभागी भएको थियो। हिलोमा धान रोप्दै उनीहरूले असार १५ नेपाली कृषिसंस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गरे। निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठले “मानो रोपेर मुरी फलाउने” परम्पराको स्मरण गर्दै किसानको मेहनतप्रति सम्मान व्यक्त गरे भने कलाकारहरूले पनि उत्साहपूर्वक धान रोपेर किसानलाई साथ दिएका थिए।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउन एक जना हलीको भूमिका पनि महत्वपूर्ण हुन सक्छ भन्ने सन्देश बोकेको यस चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका छन्। चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको छायांकन राहुल राई, सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।


