वरिष्ठ कलाकार मदनकृष्णको बायोपिक ‘मदनकृष्ण’ निर्माण घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

नेपाली कला क्षेत्रका अग्रज तथा लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित विशेष समारोहबीच चलचित्रको औपचारिक घोषणा गरिएको हो। चलचित्रको शुभारम्भ स्वयं मदनकृष्ण श्रेष्ठ र उनका लामो समयदेखिका सहयात्री तथा मित्र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा धिमे बाजासहित मदनकृष्णको स्वागत गरिएको थियो। माला र खादाले सम्मान तथा शुभकामना व्यक्त गर्दा उनी भावुक बनेका थिए। हरिवंश आचार्यको छेउमा बसेका मदनकृष्णले आँसु थाम्न सकेनन्। कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनमाथि चलचित्र बन्न लागेकोमा अत्यन्त खुसी लागेको बताउँदै दर्शकले आफ्नो जीवनयात्रालाई अझ नजिकबाट बुझ्न पाउने विश्वास व्यक्त गरे। उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गरे।

निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने मदनकृष्णकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्। चलचित्रमा मदनकृष्णको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका विभिन्न संघर्ष र सफलताका अध्याय समेटिनेछन्। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको समेत अभिनय रहनेछ। हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने अझै सार्वजनिक गरिएको छैन।

कार्यक्रममा हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफूका लागि पनि गर्वको विषय भएको बताए। उनले निर्देशक मिलन चाम्सलाई साहसी, ऊर्जाशील र सक्षम निर्देशकको संज्ञा दिँदै चलचित्रले कथाप्रति न्याय गर्ने विश्वास व्यक्त गरे। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि बायोपिक निर्माण चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै कलाकार र मेकअप टिमले ठूलो मेहनत गर्नुपर्ने बताए।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। यम थापाले कथा तथा पटकथा लेखेको यस चलचित्रमा बाबु श्रेष्ठ डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक तथा भरत कँडेल साउन्ड डिजाइनरका रूपमा रहेका छन्। भदौको दोस्रो सातादेखि छायांकन सुरु गरिने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

मिलन चाम्स यसअघि ‘अञ्जिला’, ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ जस्ता चर्चित बायोपिक निर्देशन गरिसकेका निर्देशक हुन्। विशेषगरी ‘अञ्जिला’ बक्स अफिस तथा समीक्षात्मक दुवै दृष्टिले सफल बनेको थियो। नेपाली अभिनेतामाथि आधारित यो पहिलो बायोपिक हुने बताइएको छ।