‘बाः एक योद्धा’को फस्ट लुक्स सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असार

संगीतकार हरि लम्सालको निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन् । ‘बा’ को हुन् भन्ने कौतुहलता मेटाउँदै पोस्टरले चलचित्र ‘बाः एक योद्धा’को ‘बा’को परिचय खुलाएको छ ।

चलचित्र ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा दिब्य देब रहेको पोस्टरले पुष्टि गरेको छ । चस्मा लगाएका उनी तनावमा देखिएका छन् । उनीसँगै छिन्, ‘बा’ कि छोरी । छोरीको भूमिकामा सुहाना थापा रहेको पोस्टरले खुलाएको छ । उनी सामान्य पहिरनमा गाउँतिर बोक्ने झोला बोकेर तनावमा हिँडिरहेको देखिन्छ । यो चलचित्रमा दिब्य देबको अपोजिटमा झरना थापा रहेको पोस्टरमा रहेको फोटोले देखाउँछ । यो पोस्टरले खुलासा गरेको अर्को तथ्य झरना र सुहाना आमा–छोरीको भूमिकामा छन् भन्ने हो ।

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बाः एक योद्धा’को मुख्य कथा हो । पोस्टरले पनि यही देखाउने प्रयास गरेको छ ।

यो चलचित्रमा दिब्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् । चलचित्र ‘बाः एक योद्धा’ कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायांकन रहेकोे ‘बाः एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।