बलिदानको पहिलो दिनको व्यापार ५७ लाख रुपैयाँ


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज

यो ज्यान बलिदान भन्ने नारा सहित सोमबार रिलिज भएको अभिनेता समिर भट्टको महत्वकांक्षी चलचित्र बलिदानले पहिलो दिन नेपालमा नेपालका हलमा ५७ लाख १९ हजार ३४० रुपैयाँको ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख छ । निर्माण पक्षले यो चलचित्रको पहिलो दिनको व्यापार २ करोडसम्म हुने अपेक्षा गरेको थियो । तर जेनजी आन्दोलनको प्रभाव र तीन वटा चलचित्र जुधेकै कारण व्यापारमा ठुलो असर परेको छ ।

६ करोड २५ लाखमा बनेको यो फिल्मले लगानी उठाउन मात्र १४ करोडको व्यापार गर्नु पर्ने हुन्छ । आफ्नो चलचित्रको लगानी ६ करोड २५ लाख खर्च भईसकेको निर्माता निर्देशन सन्तोष सेनले आईतबार आयोजित पत्रकार भेटघाटमा बनाएका थिए । हलमा व्यापार भएको रुपैयाँ मध्य ५० प्रतिसत हललाई, १५ प्रतिसत ट्याक्स र पाँच प्रतिसत वितरक लिएर दिएर निर्माताको हातमा सरदर ४० प्रतिसत शेयर पर्ने गरेको छ । तसर्थ चलचित्र चलचित्र बलिदानले १४ करोड भन्दा माथिको व्यापार गरेको खण्डमा मात्र लगानी सुरक्षित हुने देखिन्छ ।

चलचित्र वलिदानका निर्माता सन्तोष सेनलाई जहिले पनि साईवर सेना परिचालन गरेको आरोप लाग्ने गरेको छ । चलचित्र पत्रकारले यो फिल्मलाई सहयोग गरेनन भनेर अहिले पत्रकारलाई सामाजिक सञ्जालमा गाली गर्ने काम सुरु भएको छ ।

चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले ब्युटी न्युज नेपालसँगको कुराकानीमा यस्तो काम रोक्न आग्रह गरेका छन् । ती साईवर सेनालाई सामाजिक सञ्जालमा पत्रकारलाई गाली गरेर बस्नु भन्दा चलचित्र घरमा गएर टिकट किनेर चलचित्र हेरेर बलिदानका निर्मातालाई सहयोग पुर्याउने काम गर्न सुझाब दिएका छन् । यदि निर्माण पक्षबाट यस्तो काम भएको हो भने यसलाई तत्कालै रोक्न पनि उनले आग्रह गरेका छन् ।