फेरी सर्यो ‘जारी २’, अब २१ कात्तिकमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ असोज

हिजो मात्र आगामी भाइटिकामा रिलिज हुने भनेर पोस्टर सार्वजनिक गरिएको चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ त्यो मितिबाट फेरी सरेको छ । आज बुधबार फेरी निर्माण पक्षले दुई वटा पोस्टर सार्वजनिक गर्दै अब यो चलचित्र आगामी २१ कात्तिकमा रिलिज गर्ने जनाएको छ । बुधबार साँझ दुबै पोस्टर सार्वजनिक गर्दै यस चलचित्रका निर्माता रामबाबु गुरुङले ‘जारी २’ सँग सम्बन्धीत सबैसँगको सार्वाधिक छलफलपछी नयाँ मिती परिवर्तन गरिएको बताए ।

भाइटिकमै दयाहाङ राई र बिजय बरालको अर्को चलचित्र बरिष्ठ बलराम आउने तयारी सहित प्रचार प्रसार सुरु गरिएकाले यो चलचित्रलाई सो मितिमा रिलिज नगर्न मंगलबार र बुधबार चलचित्र क्षेत्रबाट दवाव आयो । जसका कारण जारी २ लाई भाइटिकाबाट फेरी २१ कात्तिक पुर्याइएको हो ।

खासमा यो चलचित्र असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज गर्न लागिएको थियो । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएकाले असोज ३ को रिलिज कार्यक्रम स्थगित गरिएको यस चलचित्रका निर्देशक निर्देशक उपेन्द्र सुब्बाले बताए ।

किवि उपेन्द्र सुब्बा स्वयम्को लेखन र निर्माण रहेको यो चलचित्रको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा यसका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा पात्रलाई खुशी भावमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ ।

‘जारी २ ः सङ अफ च्याब्रुङ’ दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरु सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।