ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन
नेपाली चलचित्र ’बलिदान’को टिजर आज कृष्ण जन्म अस्टमीको अवसरमा सार्वजनिक गरिएको छ । करिब दुई मिनटको यो टीजरमा कुनै एक समुदायको राज्य अर्को आधुनिक समाजका विशिष्ट समुदायले हत्याउन खोजेको र त्यसको लागि आदिम समुदायले संघर्ष गरेका कथासार प्रस्तुत छ ।
सन्तोष सेनको निर्देशनमा तयार भएको यो चलचित्र आगामी दसैंको फूलपातिमा रिलिज हुँदैछ । यस चलचित्रको टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन्।
अभिनेत्री ऋचा शर्माको अन्यायमाथिको पीडा व्यक्त गरेपछि अमिनेता समीर भट्ट प्रस्तुत हुन्छन् । टिजरमा समीरलाई एक्सन अवतारमा उतारिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रका निर्देशक सन्तोष सेनले ’बलिदान’ केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताए ।
‘आसुसेन फिल्म्स प्रा. लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।



