ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ वैशाख
१२ वर्षमा खोला फर्कन्छ भन्ने नेपाली उखान प्रचलित छ । तर नेपाली चलचित्रको एउटा गीत २४ वर्षमा फेरी चलचित्रमै नयाँ रेकर्डसहित फर्किएको छ । यो गीत चलचित्र दैव संयोगको आच्छा लेकिन लन्डनको हो ।
२४ वर्ष अघि मञ्जु कुमार श्रेष्ठले निर्माण गरेको नेपाली चलचित्र दैव संयोगमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको शब्द, संगीत र स्वरमा अच्छा लेकिन लन्डनको…गीत राखिएको थियो । यो गीतमा अभिनेता रोज हमालले अभिनेत्री शनि रौनियारसँग नृत्यसँग अभिनय गरेका थिए ।
पुरानै एरेन्ज र संगीतमा यो गीत नयाँ चलचित्र ‘नरसिंहा अवतार’मा समावेश गरिएको छ । बुधवार काठमाडौँमा एक समारोहबिच यो गीतको नयाँ संस्करण सहितको भिडियो सार्वजनिक गरियो । यो नयाँ गीतमा पनि शम्भुजीत बासकोटाको स्वर, शब्द तथा संगीत छ । उनलाई यो गीत यस पटक महिला स्वरमा रचना रिमालले साथ दिएकी छन् । दैव संयोगमा यो गीतमा बासकोटालाई देविका वन्दनाले स्वरमा साथ दिएकी थिइन् ।
यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा यस पटक राजेश हमालले नीति शाहसँग जोडी भनेर यो गीतको भिडियोमा नाचेका छन् । यी दुईसँगै सरोज खनाल, राज कटुवाल, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्कालगायतले नृत्य गरेका छन् ।
यो चलचित्र आगामी ९ जेठमा नेपालमा रिलिज हुँदै छ । चलचित्रमा अन्य कलाकारमा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरी लगायत छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको यो चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन तथा कथा छ।