भुठानको ट्रेलरमा देश फर्कन चाहने शरणार्थीको संघर्ष पीडा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ बैशाख

अमेरिकामा छायांकन गरिएको चलचित्र ‘भूठान’को ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर नेपालेबाट तेस्रो मुलुक अमेरिका पुगेका एक भुटानी शरणार्थीले आफ्नो जन्म मुलुक भुटान जान दशौँ पटक कोसिस गर्दा पनि त्यो देशबाट भिसा नभएको पीडा प्रस्तुत छ । अमेरिकामा रहँदा हिन्दु धर्मावलम्बीले धर्म परिवर्तन गरेकै कारण मृत्युपछि अन्तिम दाह संस्कारको लागि परिवारमा आएको किचलोको समस्या पनि यो चलचित्रको ट्रेलरमा दर्साइएको छ ।

यो चलचित्रलाई निर्देशक विनोद पौडेलले स्वदेशीसँगै अन्तर्राष्ट्रिय बजारलाई पनि लक्षित गरेर बनाएका छन् । दोस्रोबाट तेस्रो मुलुकमा स्थानान्तरण भएका धेरै देशका शरणार्थीले भोग्नु परेको समस्याहरूलाई यो चलचित्रले प्रतिनिधित्व गर्ने देखिन्छ । शरण दिएको मुलुकमा पुग्दा त्यो देशको धर्म संस्कृति ग्रहण गर्न नयाँ शरणार्थी पुस्ता र आफ्नो मातृ धर्म र संस्कृति जस्तो अवस्थामा पनि छाड्न नचाहने बाउ बाजे पुस्ताबिचको धार्मिक एवम् सांस्कृतिक संघर्षको कथा यो चलचित्रले प्रस्तुत गर्ने कुरा ट्रेलरले जनाएको छ ।

यस अघि साँघुरो र बुलबुल जस्ता चलचित्र बनाएका निर्देशक विनोद पौडेलले यो तेस्रो चलचित्र पनि मूलधारबाट केही पर हटेर बनाएको देखिन्छ । चलचित्रको शीर्ष अभिनेता हरिवंश आचार्यको एउटा नग्न दृश्य र अनुराधा मजुमदारसँग ओष्ठ चुम्बन गरेको अर्को दृश्य ट्रेलरमा पस्केर विनोदले साँघुरो र बुलबुलमा जस्तै भुठानमा पनि यौनमा उदारता देखाएका छन् ।

यो चलचित्रको अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको छ । चलचित्र भुठानको शीर्ष चरित्रमा हरिवंश आचार्य छन् । यस्तै यसमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतको अभिनय छ । हलिउड अभिनेता ब्रस डर्न पनि यसमा विशेष भूमिकामा देखिएका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको देश प्रेम र आफ्नो थात थलो छोड्न पर्दा घर हराएको कथा यो चलचित्रमा विनोदले उठाएका छन् । चलचित्र निर्देशन गर्दा गर्दै अमेरिका पुगेका विनोदले त्यहाँ रहेर पनि चलचित्र निर्देशनलाई निरन्तरता दिएका छन् । यो चलचित्र यही १२ वैशाखबाट चलचित्र घरमा लाग्ने भएको छ । यो चलचित्रका अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बासकोटा छन् ।