ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ वैशाख
नयाँ वर्षको अवसर पारेर २९ चैतबाट रिलिज भएको सौरभ चौधरीको महत्वकांक्षी चलचित्र ‘कर्मा’ पहिलो साता नसकिँदै वास आउट भएको छ । फितलो चलचित्रका कारण कर्मा हेरेका दर्शकले उल्टै निर्माण पक्षलाई गाली गर्दै हलबाट बाहिरिएको देखियो ।
नयाँ वर्षको अवसरमा यो चलचित्र हिट हुने विश्वास यसका निर्देशक सौरभ चौधरीलाई थियो । करिब ३ करोडको लागतमा तयार भएको यो चलचित्र नेपालको बक्स अफिसबाट कम्तीमा ६ करोड व्यापार गर्ने विश्वास निर्देशक सौरभलाई थियो । बक्स अफिसको रिपोर्ट अनुसार यो चलचित्रको ६ दिनमा जम्मा २५ लाखको मात्र व्यापार भएको छ । चलचित्रले कुल ३० लाख रुपैयाँ समेत नेपालबाट नउठाउने अबस्था देखिन्छ । हलसम्म आएर कर्मा हेर्ने दर्शकको अहिले पुरौ खडेरी लागेको छ ।
बिहीबारसम्म आइपुग्दा देशभरिका हलहरूबाट ९० प्रतिशत सोहरू हटिसकेको छ । यो चलचित्रले काठमाडौँको क्युएफएक्स काठमाडौं उपत्यका चेनहलहरुमा रिलिजको दिन एक दर्जन भन्दा बढी शो पाएको थियो । तर पहिलो साताको बिहीबारसम्म आइपुग्दा सातौँ दिनमा यो चलचित्र काठमाडौँ उपत्यकाको क्युएफएक्स चेनहलमा जम्मा दुई सोमा सिमित भएको छ । यो दुई शो पनि भोली शुक्रबारसम्म रहन्छ की रहन्न भनेर अनुमान गर्न गाह्रो छ ।
बिहीबार यो चलचित्र क्युएफएक्स काठमाडौं उपत्यकामा सिभिल मलमा एक शो र सिटी स्वायर मलमा एक शो गरी जम्मा दुई शोमा सीमित भएको छ । विपिन कार्कीको अहिलेसम्म कुनै पनि चलचित्र पहिलो सातामा यति धेरै असफल भएको थिएन । जबकी यति बेला छैटौँ हप्तामा प्रदर्शन भइरहेको चलचित्र अञ्जिलाले बरु ४३ औँ दिन बिहीबार पनि क्युएफएक्स काठमाडौँ उपत्यकामा १० शो पाएको छ ।
निर्देशक सौरभ चौधरीको चलचित्र कर्मा नचल्नुमा पहिलो कारण नाम नै उपयुक्त नभएको हो । कर्मा नाम बुद्धिस्ट समुदायमा प्रचलित छ । तर यो चलचित्रमा कर्माको चरित्र निभाएको पात्र हिन्दु परिवारको छ । रोल्पामा जन्मेको हिन्दु परिवारको पात्रलाई कर्मा नाम पटक्कै सान्दर्भिक देखिँदैन । धर्म वर्ण र जात वर्ण अनुसारको नामाकरणमा निर्देशक सौरभको ज्ञान नपुगेको देखिन्छ ।
चलचित्र कर्मा नचल्नुको दोस्रो कारण यसको फितलो स्क्रिप्ट हो । चलचित्रको स्क्रिप्टमा भन्दा निर्देशकको ध्यान मोटरसाइकल स्टन्टमा बढी देखिएको छ । मोटरसाइकल उडाएको दृश्यले हलसम्म दर्शक तान्ने दुई दशक अघि नै पलायन भइसकेको यो घिसिपिटी सूत्र हो ।
सामाजिक चरित्रमा स्थापित अभिनेता विपिन कार्कीलाई जबरजस्ती एक्सनमा उतार्नु निर्देशकको अर्को मूर्खता थियो । सोही कारण दर्शकले विपिनलाई एक्सन भूमिकामा पत्याएनन् ।
गतिलो चलचित्र यहाँ चलेकै छन् । चलचित्र ४३ औँ दिनमा पनि यति बेला चलचित्र अञ्जिला गज्जबसँग चलेको छ । यस पटक नयाँ वर्षमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देलसहित आधा दर्जन स्टार कलाकार भएको चलचित्र पिताम्बरसँग चलचित्र कर्मा जुधाउनु नै निर्देशक सौरभ चौधरीको अर्को मुख्य कमजोरी हो ।
यस्ता थुप्रै कारणले चलचित्र कर्मा रिलिज भएको पहिलो हप्तामै चलचित्र घरबाट वास आउट भएको छ । एक्सन जनरामा छुट्टै छाप बनाउँछु भनेको निर्देशक सौरभ एक्सनमै नराम्ररी चिप्लिए । जसका कारण निर्माणको लगानी डुब्यो भने उनी सहित कलाकारको करिअरमा सफलताको ठुलो दाग लागेको छ ।