ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख
चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीतको भिडियो मंगलबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने यो चलचित्रको गीतमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको संगीत एवम् झुमा र सुजन चापागाईँको स्वर रहेको छ ।
गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । आफुले म्युजिक भिडियो भन्दा फरक रुपमा चलचित्र बनाएको जिकिर गरे । काफ्ले गीतका गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना यो गीत मार्फत पूरा भएको बताए ।
यो गीतको संगीतकार तथा गायिका झुमा लिम्बूले ‘काफ्ले’ गीत उनको बाल्यकालको सम्झनासँग जोडिएको बताइन् । “यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु । काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो’, उनले भनिन् । मुन्धुम संस्कृति अध्ययनमा सक्रिय लिम्बूले गीतमा समेटिएको सांस्कृतिक गहिराइलाई अझ सशक्त बनाएकी छन् ।
गीतका गायक सुजन चापागाईँले ‘ऊनको स्वीटर’ गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर ’ऊनको स्वीटर’ बनाएको बताए । कार्यक्रममा झुमा लिम्बू र सुजन चापागाईँले यही गीतमा प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।
चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए,’अटो भर्ने कुरामा आफ्नै याद आउँछन् । विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु,’ उनले अनुभव सुनाए, ‘यस चलचित्रमा कतिपय आफ्नै अनुभव पनि छन् ।’
अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । “यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ । मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैँले काम गर्न पाएकी छु,“ मिरूनाले भनिन् । उनले यो चलचित्र निर्माणको क्रममा आफू पनि स्वीटरमा बुनिएको जस्तो अनुभव भएको बताइन् । अभिनेता विल्सन विक्रम राईले ’ऊनको स्वीटर’को अभिनय समयलाई आफ्नो ‘लक्की टाइम’को रूपमा चित्रित गरे ।
आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।
सुजन चापागाईँ गीत निर्देशक रहेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् । सुरज कटुवाल सह–लेखकका रूपमा रहेका छन् । सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले बताए ।