ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ चैत
यही २२ चैतबाट रिलिज हुने नेपाली चलचित्र ‘वसन्त’को शनिबार साँझ काठमाडौँमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो । यो चलचित्र अभिनेता तथा गायक प्रकाश सपुतको डेब्यु निर्देशन निर्माणमा तयार भएको छ ।
चलचित्र वसन्तको ट्रेलर यतिबेला युट्युव नेपाल ट्रेन्डिङमा चलचित्र तर्फ दोश्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा भने सलमान खानको चलचित्र सिकंदरको ट्रेलर छ । यस्तै तेस्रो स्थानमा नेपाली चलचित्र होस्टेल ३ को ट्रेलर र चौथो स्थानमा नेपाली चलचित्र अञ्जिलाको ट्रेलर रहेको छ ।
शनिबार बेलुका रिलिज भएको वसन्तको ट्रेलरले सोमबार राती ११ बजेसम्म ४ लाख ४० हजार भन्दा बढी दर्शक भ्युज भाइसकेको छ । ट्रेलरले दर्शकबाटै निकै राम्रो प्रतिक्रिया पाएका कारण पनि यसले दर्शकको मन जित्ने आशा गरौँ ।
चलचित्र वसन्तमा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।