“अभिनेता हमाल करिब एक दशकपछि दिवाकर निर्देशित चलचित्र नरसिंहा अवतारबाट पुन रजत पटमा फर्कँदै छन् । हमालले चलचित्र मायावीले यस पटकको शिवरात्रिको बजार तताउनेमा आफू विश्वस्त रहेको बताए ।”
ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ फागुन
अभिनेता राजेश हमालले आफूलाई चलचित्र मायावी साह्रै मन परेको बताएका छन् । यो चलचित्रको प्रिमियर शोमा सोमबार बेलुका कीर्तिपुर स्थित कीर्तिपुर सिनेप्लेक्समा पुगेका अभिनेता हमालले निर्देशक दिवाकर भट्टराईले कथानक र दृश्यगत रूपमा उच्च कोटीको साह्रै राम्रो चलचित्र बनाएको बताए । चलचित्र हेरेपछि सञ्चारकर्मीलाई लामै प्रतिक्रिया दिएका हमालले चलचित्र मायावी अब आफूले श्रीमती मधुको साथमा फेरी हेर्ने प्रतिबद्धता जनाए ।
अभिनेता हमाल करिब एक दशकपछि दिवाकर निर्देशित चलचित्र नरसिंहा अवतारबाट पुन रजत पटमा फर्कँदै छन् । हमालले चलचित्र मायावीले यस पटकको शिवरात्रिको बजार तताउनेमा आफू विश्वस्त रहेको बताए ।
निर्देशक ज्ञानेन्द्र देउजाले पनि प्रेम कथामा एउटा अब्बल चलचित्र बनेको बताए । बुधवारबाट एक साथ तीन नेपाली चलचित्र रिलिज हुँदै छन् । तर मायावी लभ स्टोरी जनरामा निर्माण भएको र बाँकी दुइ चलचित्र भन्दा फरक रहेकाले यसलाई दर्शकले मन पाउने निर्देशक देउजाको कथन छ ।
मायावीको प्रिमियरमा गायक रामकृष्ण ढकाल, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरू उषा उप्रेतीलगायतले यो चलचित्र हेरेर मायावीको खुलेरै प्रशंसा गरे । यो सांगीतिक चलचित्रमा उत्कृष्ट भएको ढकालले बताए ।
मायावीको मुख्य कलाकारहरू दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंशु महर्जन, नव–नायक समीम खान पनि पुगेका थिए ।
यो चलचित्रको सोमबारबाटै अग्रिम टिकेट बुकिङ खुलेको छ । सोमबार बेलुकीबाट नै देशभरका मल्टिप्लेक्समा फिल्मले सुखद शोज पाएको छ । क्यूएफएक्स चेन, वान सिनेमाज्, बीग मुभिज, आई एन आई, एफक्यूब लगायतका मल्टिप्लेक्सले फिल्मको शोज खुलाएका छन् ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो फिल्मले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ । यो चलचित्रमा प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन् । क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन् । फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजीत बासकोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी छ ।