सेन्सर पास भयो लाज शरणम्, आईतबार प्रमाणपत्र पाउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ फागुन

नेपाली चलचित्र ‘लाज शरणम्’ ले अब रिलिज हुन पाउने भएको छ । यो चलचित्रलाई आज साँझ केन्द्रीय चलचित्र जाँच पास समितिबाट सेन्सर पास गरेको छ । लाज शरणम्ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

यसै साता यो चलचित्रको प्रचार प्रसारको लागि उच्च अदालत पाटनले रोक लगाएको थियो । कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर गरेको सीताराम कट्टेलले यो चलचित्रमा अभिनय गरेको भन्दै चलचित्र विरुद्ध पूर्व मन्त्री आलमले उच्च अदालत पाटमा रिट दायर गरेका थिए । सोही कारण यो चलचित्रमा सीतारामको भूमिकाको प्रचारप्रसार गर्न रोक लगाएको थियो । अब चलचित्रलाई सेन्सर बोर्डले पास गरेपछि चलचित्रको प्रदर्शनको लागि बाटो खुलेको छ ।

केन्द्रीय चलचित्र जाँच पास समितिका सदस्य भूपेन्द्र कुमार खड्का र ऋषिराज आचार्यले आलमको जस्तो भेष भूषा देखिएको सीतारामको पात्र आलमको नभएको सेन्सरमा देखिएको ब्युटी न्युजलाई बताए । सोही कारण यो चलचित्र सेन्सर पास भएको पनि यी दुईले प्रकाश पारे । चलचित्रलाई आज जाँच पास गरिएको भए पनि केही कागजात मिलाएर आइतबार मात्र प्रमाणपत्र दिइने उनीहरूले बताए ।

अब यो चलचित्र चलचित्र महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ ।