ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ फागुन
नेपाली चलचित्र ‘होस्टेल ३’को यही आउँदो २३ फागुनबाट रिलिज हुँदैछ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर शुक्रवार काठमाडौंमा एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
यस अघि होस्टेलर र होस्टेल २ निर्माण भएर दर्शक माझ आईसकेको छ । होस्टेलका २ सँृखलालाई दर्शकले मन पराएपछि प्रिक्वेलको रुपमा होस्टेल ३ आउन लागेको हो ।
शुक्रबार सार्वजनिक यो चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरिएको देखिन्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ । यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका झलक देख्न सकिन्छ । उनीहरुको अभिनय प्रसँसनीय छ ।
यसमा अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिएका छन् । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।
चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् । अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।
माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।