ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ
नेपाली चलचित्र ’एक्टरः टेक वन’ दोस्रो हप्ता प्रवेश गरेको छ । यो चलचित्र गत हप्ता प्रदर्शनमा आएको हो । वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् ।
यति बेला यो चलचित्र नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ । हाल यसको रिलिजको लागि अभिनेता प्रदिप खड्का जापान पुगेका छन् । दुई दिन अघि जापानको यसको प्रिमियर आयोजना भएको थियो, जहाँ सयौँ दर्शकसँग बसेर खड्काले चलचित्र हेरे । उनी जापानका विभिन्न सहरहरूमा आयोजना हुने शोहरूमा सहभागी भई अमेरिका प्रस्थान गर्नेछन् । खड्का अमेरिकामा पनि यही चलचित्र रिलिजको लागि जान लागेका हुन् । खड्का सम्बद्ध कम्पनीले यस चलचित्रको अमेरिका र क्यानडाको वितरण अधिकार खरिद गरेको हो । यो चलचित्र युरोपमा समेत रिलिज हुँदैछ ।
यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।