ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ
नेपाली चलचित्र ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ । चलचित्र जुना ः एक व्यथा यही माघ २५बाट रिलिज हुँदै छ । गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
यो गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले अभिनय गरेका छन् । विवाहमा महिलाहरूले नाच्ने रत्यौलीलाई चलचित्रमा प्रस्तुत गरिएको छ । गीतमा एक केटीलाई केटाको भेसभुसामा उतारिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत बेहुला पक्षको घरको आँगनमा खिचिएको छ । यो चलचित्रले बाल विवाह, अनमेल विवाह, महिला हिंसालगायतका विषयलाई उठान गरेको छ । दीपकप्रसाद घिमिरेले निर्माण गरेको फिल्ममा जीवन सेन्चुरीको निर्देशन छ ।
गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेत, कमल बोहरा र खगेन्द्र न्यौपानेको अभिनय छ ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अन्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईँको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।