फेरि रेशम फिलिलिमा पनि त्यो पारीटी डाँडामा गीतको रिमेक


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ माघ

१० वर्ष अघि लोकप्रिय भएको चलचित्र रेसम फिलिलिको गीत त्यो पारीपटी डाँडामा घाम लाग्यो घमाइलो…को नयाँ भर्सन फेरी आउने भएको छ । यो गीत यस पटक चलचित्र फेरि रेशम फिलिलिमा समेटिएको छ । सार्वजनिक भएपछि यो गीतले पहिलेको गीतले झैं लोकप्रियता बटुल्ने अनुमान निर्माण पक्षले गरेको छ । सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कँडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । निर्माता रौनक विक्रम आफ्नो नयाँ चलचित्रको यो गीत फेरी पनि भाइरल हुनेमा विश्वस्त छन् ।

२०७१ सालमा ‘भाइरल’ शब्द आजजस्तो सर्वव्यापी प्रयोग हुने शब्द भइसकेको थिएन। यो बिस्तारै प्रयोगमा आउन थालेको थियो । सो साल कुनै हल्ला खल्ला बिना नै रिलिज भएको, नाम नै नसुनिएको निर्देशक अनि खासै लोकप्रिय नरहेका कलाकार अभिनीत सिनेमाको ‘लिरिकल’ भिडियो जालमा– पारी त्यो डाँडा’मा रिलिज भयो ।

जसै गीत रिलिज भयो गीतले लोकप्रियताका सारा सीमा नाघ्दै लोकप्रियताको कीर्तिमान बनायो । सामाजिक भिडियो सेयरिङ प्लेटफर्म युट्युबसँग बिस्तारै अभ्यस्त हुन थालेका नेपाली प्रयोगकर्ताले यसको लोकप्रियतालाई भ्यूजको माध्यमबाट मानक बनाइदिए ।

यसरी भाइरल बनेको गीत डेब्यू निर्देशक प्रनव जोशी निर्देशित ‘रेशम फिलिलि’ सिनेमाको थियो । गीतको लोकप्रियताले सिनेमा दर्शका लागि सर्वाधिक प्रतिक्षित बन्यो । सिनेमा २०७२ सालको वैशाख ११ गते रिलिज भयो । सिनेमाले आक्रमक व्यापारको सुरुवात ग¥यो तर शनिवारको भूकम्पले सिनेमाहलहरु अस्थायी रूपमा बन्द भएपछि सिनेमाले आफ्नो रफ्तारमा दौड पूरा गर्न नै पाएन ।

यही सिनेमा रिलिजको झन्डै दशक पूरा गर्नै लाग्दा सिक्वलबाट फेरि दर्शकमाझ आउँदै छ । सिनेमा फागुन १४ गते रिलिज हुँदै छ ।

रिलिज मिति नजिकिदैं गर्दा सिनेमाले आफ्नो प्रचारका लागि ‘जालमा’ गीतको सिक्वल ल्याउने तयारी गरेको छ, जसको छायाँकन यसै साता सकिएको छ। यसै साता रिलिज हुने यो ‘फेरि जालमा’ गीतको तस्बिर निर्माण पक्षले सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा सिनेमाका मूल कलाकारहरू विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कँडेल फिचर भएका छन् ।

सो तस्बिरमा उनीहरुलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरी थरीका रंगीन छाताहरूले सजाइएको रुखा कृतिको अगाडि बसिरहेको देख्न सकिन्छ । यो सिक्वल गीतमा जालमाको संगीत र गायन टोली एकसाथ फर्किएको छ ।

गीत कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको हो भने शब्द मानस राजले लेखेका हुन् । यस्तै गायनमा काली र सोमिया बराईली रहेका छन् । यस्तै गीतको भिडियालाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन्  ।

 यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिलि’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।