चलचित्र दुखी आत्माको ‘जोक जात्रा’ देशका १० सहरमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ माघ

नेपाली चलचित्र ‘दुखी आत्मा’को टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो यात्रा मुलुकका विभिन्न १० सहरमा हुने निर्माण पक्षले जनाएको छ । यो जोक जात्रामा ‘कमेडी च्याम्पियन सिजन ३’का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतीक कुमार अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । उनीहरू सबैले ‘कमेडी च्याम्पियन’मा आफ्ना प्रस्तुति प्रस्तुत गरिसकेका छन् । ‘जोक जात्राः स्ट्यान्ड अफ कमेडी टुर’ नामक दिएर यो कमेडी शो आयोजना हुन लागेको हो ।

यो चलचित्र प्रणय दिवसको अवसरमा फागुन २ बाट मुलुकका चलचित्र घरमा प्रदर्शन हुँदै छ । यसै क्रमको चलचित्रको प्रचार प्रसारको लागि नेपालका १० सहरमा जोक जात्रा गर्न लागेको यसका निर्देशक दीपेन्द्र लामाले बताएका छन् । उनका अनुसार यो जात्राको लागि टोली शनिवार नै मोफसल तर्फ लागेको छ । यो कार्यक्रममा माघ ६ गते नेपालगन्ज, माघ ८ गते बुटवल, माघको १० गते नवलपुर, माघको ११ गते चितवन, माघको १३ गते पोखरा, माघको १६ गते हेटौडा, माघको १७ गते दमक, माघको १९ गते बिर्तामोड, माघको २० गते इलाममा हुनेछ ।

मोफसल जोक जात्रा सकेपछि काठमाडौँमा यो कार्यक्रम आयोजना हुने पनि निर्देशक लामाले जनाएका छन् । यो जात्रामा दुःखी आत्मा चलचित्रका कलाकारहरू पनि सहभागी हुनेछन् । माघको ६ गतेबाट सुरु भएको कार्यक्रम माघको २१ गतेसम्म चल्नेछ ।

हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ ।