ब्युटी न्युज नेपाल
काठमाडौै, ६ माघ
पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसारको लागि मेला महोत्सव पनि रोज्न थालिएको छ । यसै क्रममा चलचित्र रंगीका कलाकार पनि अहिले आफ्नो चलचित्रको प्रचार प्रसारका लागि विभिन्न मेला महोत्सव पुग्न थालेका छन् ।
आगामी फागुन २ गतेबाट रिलिज हुने रंगीको गीत ‘छ भने माया…’ लिएर यसका निर्माता एवम् अभिनेता सलोन बस्नेत र संगीतकार एवम् गायक दुर्गेश थापाले मेला महोत्सवमा आफ्नो प्रस्तुत दिने गरेका छन् । उनीहरुले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट फिल्मको प्रचारप्रसार सुरु गरेका छन् । गायक गायिका तथा फिल्मका कलाकारलाई महोत्सव आफ्नो फिल्म तथा गीतको प्रचारप्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन चाहेनन् ।
सलोनका अनुसार महोत्सवमा दुर्गेशले छ भने माया गाउँदा सलोन भने नाचेका थिए । उनले आफू पहिलो पटक निर्माताका रूपमा दर्शकमाझ आउन लागेकाले आफ्ना अघिल्ला फिल्महरूजस्तै रंगीलाई पनि माया गरिदिन आग्रह गरे । ‘महोत्सवमा सयौं दर्शकमाझ फिल्मको प्रचारप्रसार गर्न पाउँदा निकै खुशी लाग्दो रहेछ । दर्शकले हाम्रो फिल्मलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु’, उनले भने ।
बाबुछोरीको कथा बोल्ने रंगीमा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको प्रमुख भूमिकामा छन् । सलोन नै प्रस्तुत कर्ता रहेको यो चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन हो । रंगी सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।