एक्टर टेक वानको ट्रेलरमा त्रिकोणात्मक प्रेम संघर्ष


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ माघ

यही १६ माघमा रिलिज हुने नेपाली चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरमा एक समारोहबीच एक्टर टेक वानको ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका रहेको छ।

चलचित्रमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई ट्रेलरमा प्रस्तुत छन् । ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्त्वाकाङ्क्षी पात्रहरूबिचको द्वन्द्वलाई केन्द्रमा राखेको छ। राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ। चलचित्रमा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ।

राजनको यो डेब्यु निर्देशकिय सिनेमा हो । यस चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन् । दिव्या, चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्, र उनी अमेरिकाबाट नेपाल फर्केर यो चलचित्रमा अभिनय गर्न थालेकी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘एक्टरः टेक वन’को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारीले निर्माण गरेको यस चलचित्रमा अनीश भुसाल सह–निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।

चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले योगदान दिएका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् भने कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।