ब्युटी न्युज नेपाल
काठमाडौं, २ माघ
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’को निर्माण टिमले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को घोषणा गरेको छ । यो ओजना अन्तर्गत फिल्मका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
सहभागीहरूले लोक पप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ । सहभागीहरूले चलचित्र ‘लाज शरणम्’को अफिसियल इमेलमा भिडियो पठाउन सक्ने छन् ।
प्रतियोगिहरुले तयार पारेका भिडियोहरु ‘लाज शरणम्’को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ। निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहने जनाइएको छ ।
चलचित्र लाज शरणलाई १४ फागुनमा प्रदर्शन गरिने छ । चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन्। सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायत छन् ।