छैटौं हिमालयन चँगा चेट तथा मनसुन फेशन परेड पुल पार्टी सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रा.लि.ले २०८१ सालको बडा दशैंको अबसर पारेर ‘छैटौं हिमालयन चँगा चेट तथा मनसुन फेशन परेड पुल पार्टी’ आयोजना गरेको छ । काठमाडौंको तारकेश्वर नेचर भ्यु पार्कमा आयोजना गरिएको यो कार्यक्रममा सुरुमा विभिन्न कलाकार, मोडल, कोरियोग्राफर, इभेन्ट आयोजक, व्यबसायी तथा सामाजिक व्यक्तिहरुले चँगा उडाएर रमाईलो गरे । कार्यक्रममा चँगा चेट अन्तर्गत एकले अर्काको चँगा चेट गर्ने (काट्ने) निकै रमाईलो प्रतिस्पर्धा चलेको थियो ।

हिमालयन बियर पार्टीसँगै दिउँसोबाट सुरु भएको चँगा चेट अपरान्हसँग चलेको थियो । त्यसपछि मनसुन फेशन परेड सुरु भयो । रितेश रामपालको कोरियोग्राफीमा सम्पन्न फेशन शोमा चिनोले तयार पारेको विभिन्न ड्रेसमा सजिएर मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुलाई रिहिना मेकअप स्टुडियोले सुन्दर र ग्लामर बनाएको थियो ।

मनसुन फेशन शोमा सन्दीप कार्कीले स्याक्सोफोनको पाश्र्व धुन प्रत्यक्ष प्रस्तुत गरेका थिए । सो धुनमा क्याटवाक गर्दै मोडलहरु र्याम्पमा उत्रिएका थिए । मोडलहरु रोशिका पौडेल, आयुश्मा आचार्य, प्रश्मा खतिवडा, अनिषा अधिकारी, अनिशा नगरकोटीलगायतले मनसुन फेशन शोमा क्याटवाक गरेका थिए । उनीहरु क्याजुअल समर ड्रेस तथा गाउनमा र्याम्पमा उत्रिएका थिए ।

फेशन शो पछि बेलुकासम्म डिजे तथा पुल डान्स पार्टी आयोजना गरिएको थियो । सुरुमा र्याम्पमा उत्रिएका मोडलहरु पछि डिजे पार्टीमा रमाएका थिए । कार्यक्रमलाई प्रतिक्षा डँगोलले सञ्चालन गरेकी थिईन् ।

बिगतमा मनसुन फेशन परेड साउन भदौमा आयोजना हुने भए पनि यसपटक आसोजसम्म मनसुन रहेकाले दशैंको अबसर पारेर मनसुन फेशन परेड र चँगा चेट कार्यक्रमसँगै आयोजना गरिएको इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारले ब्युटी न्युज नेपाललाई बताए ।